समाचार

उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्हरुको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।