समाचार

अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने

File Photo

काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे परीक्षण गरेको थियो । त्यसपछि आएको सूचीमा नेपाल निरन्तर परेसँगै यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो राखेको थियो ।

ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् । यो टीमले मूख्यतया कर्मचारी नियमावलीमा प्राधिकरणले गरेको नीतिगत परिवर्तन र त्यसको कार्यान्वयनको अवस्थाबारे स्थलगत रुपमा परीक्षण गर्न चाहेको छ ।

प्राधिकरणले कर्मचारीले नियमावलीमा संशोधन गर्दै नियामककारी भूमिका र सञ्चालनकारी भूमिकामा रहेका कर्मचारीहरु एक अर्को भूमिकामा सरुवा हुन नसक्ने गरी प्रावधान ल्याएको छ । यसअघि ईयूले एक टोली गत अक्टोबरमा नेपाल पठाएको थियो । यो टोलीले ६ देखि ८ अक्टोबरमा नेपालमा हवाई सुरक्षाबारे अडिट गरेको थियो । यो टोलीले १०–११ नोभेम्बरमा आफ्नो प्रतिवेदन ईयू एयर सेफ्टी कमिटीमा बुझाएको थियो । तर, त्यसपछि ईयूले नयाँ एयर सेफ्टी लिस्ट निकालेको थियो ।