विज्ञान प्रविधि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी, सुर्खेत र चन्द्रगढीमा उपकरणहरुको परीक्षण गर्ने कार्यक्रम छ । यो जहाज ५ डिसेम्बरसम्म नेपालमै रहनेछ ।

प्राधिकरणका अनुसार क्यालिब्रेसन उडानमा यान्त्रिक उपकरणहरु जाँच गर्न सक्ने प्राविधिकहरु रहेका छन् । उनीहरुले अबको तीन सातामा विमानस्थलमा भएको यान्त्रिक क्षमता परीक्षण उडानको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिने छन् । यो रिपोर्टलाई प्राधिकरणले सार्वजनिक रुपमा प्रकाशन गर्छ । प्रतिवेदनले विमानस्थल व्यावसायिक उडानमा योग्य भएको प्रतिवेदन दिएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक परीक्षण उडान हुने छ ।

सो परीक्षण समेत सफल भएमा भने वायुसेवा कम्पनीहरुले नियमित उडान गर्न सक्नेछन् । प्राधिकरणले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन आएपछि विमानस्थलमा उडान गर्न कम्पनीहरुलाई आह्वान गर्नेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने घोषणा नेपाल सरकारले गरेको छ । यो घोषणा अनुसार नै विमानस्थलमा काम भइरहेको प्राधिकरणको भनाइ छ । १ वैशाख २०७३ सालमा शिलान्यास भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २७ असार २०७४ बाट काम थालिएको हो ।