समाचार

अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे मेयर बालेन र एमाले नेता भीम रावलबीच सवाल जवाफ भएको छ । मेयरको राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावलले आशंकासहित प्रश्न उठाएका थिए । बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्।

त्यसअघि उनीसँगको भेट अनुमती बीना भएको भन्दै रावलले प्रश्न उठाएका थिए । ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन ? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै रावलले स्टाटस राखेका थिए।

उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका छन् । ‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौं,’ उनले लेखेका छन्, ‘त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौं।’

बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो। ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं,’ बालेनले लेखेका छन्, ‘थप एमसिसी मार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौ ।’