समाचार

उत्तर कोरियाली शासक किमकी छोरी एक सातामा दोस्रो पटक सार्वजनिक कार्यक्रममा देखिइन्

KCNA/Reuters

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ अनकी छोरी एक साताभित्र दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी छन्। त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमानहरू बढाएको बीबीसीले लेखेको छ । तर देशको सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएको छैन। उनी किमकी सबैभन्दा प्यारी र अनमोल सन्तान भनि व्याख्या गरिएको समेत समाचारमा उल्लेख छ ।

केसीएनएले यो महिना प्रक्षेपण गरिएको ह्वासोङ१७ क्षेप्यास्त्रमा संलग्न सेना, वैज्ञानिक र अन्यलाई आइतवार किम र उनकी छोरीले भेटेको जनाएको छ। केसीएनएले हालै सार्वजनिक भएका तस्बिर कहिले को हो भनेर जनाएको छैन तर किम र उनकी छोरीले उक्त समूहले उनीप्रति उच्च महिमा र श्रद्धा व्यक्त गरेको भन्दै उनीहरू असीमित जोस र खुसीले भरिपूर्ण पाएको जनाएको छ।

विश्वकै अति गोप्य देशको नेतृत्व किम जङ अनले गर्छन् र उनको व्यक्तिगत जीवनबारे एकदमै थोरै मात्रै थाहा छ। सन् २०१२ को जुलाईमा उत्तर कोरियाले किमकी श्रीमति रि सोल-जु रहेको पुष्टि गरेको थियो। सार्वजनिक रुपमा किमसँग रि देखिएको एक महिनापछि उक्त कुरा पुष्टि गरिएको थियो। त्यसयता, दक्षिण कोरियाली सञ्चारमाध्यमले उनीहरूको तीन सन्तान रहेको अनुमान गरेका छन्।

सन् २०१३ को सेप्टेम्बरमा अमेरिकी अवकाशप्राप्त बास्केटबल खेलाडी डेनिस रडम्यानले उत्तर कोरियामा बास्केटबल कूटनीतिक भ्रमण गरेपछि ब्रिटिश पत्रिका द गार्डियनमा उनलाई उद्धृत गर्दै किमको छोरी रहेको लेखिएको थियो। ‘मैले उनीहरूको छोरी जू)ए लाई बोकेँ र किमकी श्रीमतिसँग पनि कुरा गरेँ। उनी असल पिता हुन् र उनको एउटा सुन्दर परिवार छ’ रडम्यानले पत्रिकालाई भनेका थिए। तर त्यतिबेला रडम्यानको टिप्पणीबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिने वा पुष्टि गर्ने गरेको थिएन। तर, सन् २०२२ मा पहिलो पटक देखापरिन् ।

सन् २०२२ को नोभेम्बर १९ तारिखमा केसीएनएले पहिलोपटक बाबुछोरीका कयौँ तस्बिरहरू प्रकाशित गरेको थियो। उनको अस्तित्वबारे लामो समयदेखिको हल्ला भइरहँदा ती तस्बिरले उनीबारे पुष्टि गरेको थियो। सरकारी सञ्चारमाध्यमले किमका बुवाछोरीले अधिकारीहरूसँग कुराकानी गरेको, क्षेप्यास्त्र निरीक्षण गरेको र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गरेको हेरेको जनाएको छ। तर ती बालिकाको नाम र उमेर भने समाचारमा खुलाइएको छैन।

किम जङ-अन र उनकी छोरीको पहिलो पटक तस्बिर सार्वजनिक भएको एक सातापछि केसीएनएले गत आइतवार अर्को चरणका तस्बिरहरू प्रकाशित गर्‍यो। फेरि पनि उनको उमेर र नाम उल्लेख गरिएन तर यसपटक उनलाई किमकी अति प्यारी र अनमोल सन्तान भनि व्याख्या गरियो।