विश्व

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था के छ ?

काठमाडौं । महान फुटबलर पेलेको स्वास्थ्य अवस्थालाई लिएर संसारभर चासो व्यक्त भइरहेको छ । उनी स्वयमले जारी गरेको एक स्टेटमेन्टमा भने आफू ठूलो आशासहित बलियो रहेको बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचारार्थ छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको उल्लेख गरेका छन् । अस्पतालले पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने उनी गम्भीर अवस्थामा रहेको जनाएका छन् । पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’ त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार बाहिरिएको थियो । पेलेले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’