समाचार

दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग हारेको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गरेको थियो । तर, कम लक्ष्यका कारण स्कटल्याण्डले ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ । साथै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा यो टीम छनोट समेत भएको छ ।

लिग टु मा सबै ३६ खेल नै खेलिसकेको ओमानको समेत ४४ अंक छ । रनरेटमा स्कटल्याण्ड शीर्षमा छ । नेपाल २२ खेलपछि १८ अंकसहित छैटौं स्थानमा छ । पहिलो खेलमा नामिबियालाई हराएको स्कटल्याण्डले नेपाललाई हराएर शृंखलामा लगातार दोस्रो जित निकाल्यो । स्कटल्याण्डका लागि क्रिस्टोफर म्याब्रिड्जले सर्वाधिक ४३ रन बनाए । नेपालका लागि सागर ढकाल, गुलशन झा र ललित राजवंशीले समान २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रन बनाएको थियो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले सर्वाधिक २९ रन बनाए ।