समाचार

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ । सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण समेत नभएको बताए ।

‘गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था त होइन, गठबन्धन तोड्नुपर्छ भन्ने कुरा त होइन, पार्टीले गठबन्धनको विकल्प सोचिसकेको छैन’ उनले सञ्चारकर्मीसँग भने । शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताइएको छ ।