समाचार

पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो । त्यसपछि पेनाल्टी शुटआउटमा गरिएको हो ।

लिभाकोभिचले तीन पेनाल्टी बचाएका थिए । उनले ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गरे। क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार पोष्टमा लागेको थियो ।