समाचार

महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र पठाउने तयारी रहेको जनाइएको छ ।

गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न भनेको छ ।

दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । सो क्रममा मानिसहरु घाइते भएका छन् । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको हो ।