फिचर

नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ सङ्केत भएको बताए ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, सञ्चारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ ।