फिचर

ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

काठमाडौं । ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण शुक्रबारदेखि शुरु हुने भएको छ।

निर्माणको ठेक्का पाएको एमरएस आशिष-समानान्तर जेभीले शुक्रबारदेखि काम शुरु गर्न लागेको हो । ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।

आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो।

६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।

काम शुरु हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम व्यवस्थापनका लागि सूचना जारी गरेको छ।

शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।

त्यसैगरी निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने तथा बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक र दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा तथा निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।