फिचर

आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले निरन्तर लज्जास्पद प्रदर्शन गर्दा कुनै पनि खेलमा जित निकाल्न सकेन । प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टूको यस सिरिजमा नेपालले मात्र एक अंक जोडेको छ ।


नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग अझ कमजोर देखियो । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर केल कोर्टजर १६ रनको स्कोरमा आउट भए पनि अर्का ओपनर जर्ज मुन्से र क्रिस्टोफर म्याकब्राइडले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झाले १–१ विकेट लिए । यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो । शृंखलाको निराशाजनक प्रदर्शनपछि नेपालले अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन समेत अब नेपालले बाँकी सबै खेल जित्नुनर्पे अवस्था छ ।