स्थानीय

मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खस्दा एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ । जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच आजै वार्ता समेत भएको थियो ।