समाचार

कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

gorakhapatra

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले कलाकारहरूलाई राष्ट्रको अमूल्य सम्पदाको संज्ञा दिँदै उनीहरुको साधना र मौलिक सिर्जनाले राष्ट्रलाई विश्वसामु चिनाएको बताइन् । उनले कला क्षेत्रले नेपाली चलचित्रले रोजगारीको र्जना गर्ने र अर्थतन्त्रलाई बलियो पार्न मद्दत गरेको बताइन् । उनले नेपाली चलचित्र र कलाकारहरूले भोग्नुपरेका दुःख र समस्यालाई अन्त्य गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

कार्यक्रममा चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न, कर अनुसार छुटको व्यवस्था गर्न, पर्यटकीय स्थलमा बिना लागत फिल्म छायाङ्कन गर्न, चलचित्र विकास बोर्ड स्वायत्त गर्न, चलचित्र उद्योग ऐन पास र लागु गर्न, चलचित्रकर्मीका लागि ठोस नीति बनाउन, पशुपति विकास कोषभित्र चलचित्रकर्मीका लागि श्रञ्दाञ्जलि गृह बनाउने लगायतका माग कलाकारहरूले राष्ट्रपति सामु राखेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र मनोरञ्जनका लागि मात्रै नभएर यसले सिङ्गो देशको भौगोलिक अवस्था र कला संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत गरेको बताए । नेपाली चलचित्रलाई नेपालीले नै माया नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष केसीले चलचित्र ऐन छिटो पास भएमा तथा नेपाली चलचित्र स्टुडियो र सिनेमा एम्बेसी छिटो सञ्चालनमा ल्याउने हो भने नेपाली चलचित्र विकास गर्न सजिलो हुनेमा बताए ।