समाचार

गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी

Photo : BBC

काठमाडौं । गत शनिबार नेपाल सरकारका वेबसाइटहरु एकाएक बन्द भए । जसकाकारण हवाई उडानदेखि अन्य कामहरु समेत प्रभावित भएको थियो । यसो हुनुमा फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलका अनुसार फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको हो । उनका अनुसार यो विभिन्न स्थानका धेरै कम्प्युटरलाई आफ्नो कब्जामा लिएर त्यहाँबाट गर्ने साइबर आक्रमण हो ।

साइबर आक्रमणबाट सर्भरमा कुनै क्षति भने भएको छैन। नेपालमा केही घण्टा जीओभी डट कम डट एनपी डोमेनका सरकारी साइटमा सेवा अवरुद्ध भएका थिए । साइबर आक्रमण भएपछि बलियो होस्टिङ र सेवा पनि डाउन हुने उनको भनाई छ । शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट ४ः३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए। त्यसपछि बेलुका करिब ५ः३० बजेदेखि मात्र अधिकांश वेबसाइट सञ्चालनमा आएका थिए। सूचना अधिकारी पोखरेलका अनुसार एनआईटीसीमा रहेका सबै सरकारका वेबसाइट सञ्चालनमा आएका छन्।