फिचर

सन्दीप राष्ट्रिय टीममा परे

काठमाडौं । नेपालको राष्ट्रिय टीममा सन्दीप लामिछानेलाई बोलाइएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गर्दा उनलाई पनि समावेश गरिएको हो । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। टिममा बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ।

यसअघि बिहीबार साँझ मात्र सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको थियो। सूर्य तामाङ र मौसम ढकालले दोस्रो चरणको टिममा पनि स्थान बनाएका छन्। विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनास बोहरा, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी र शरद भेषवाकर बाहिरिएका छन्। कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद टीममा परेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। लिग २ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग २ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो। यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।