समाचार

मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका थियो ।

माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।