समाचार

युएसआइडी प्रमुख आज नेपाल आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ ।

पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटघाटमा । यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ । अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।