समाचार

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका छन्।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताएका छन् । उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ। सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

देशभरि हजारौं घाइते भएका छन्। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन्। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३.६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ। जुन कुनै पनि अन्य देश भन्दा बढी छ। भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ। टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन्।