समाचार

उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो ।

नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि फार्ममा रहेका चार हजार पाँच सय कुखुरा र दुई हजार पाँचवटा अन्डा नष्ट गरिएको छ । बर्डफ्लु देखिएका अन्य दुई फार्मलाई निगरानीमा राखिएकाले मङ्गलबारसम्म नष्ट गरिसक्ने मन्त्रालयले जनाएको छ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धानबाट गत शुक्रबार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।