फिचर

उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६० कम्पनीको ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहका परिसूचकमा हरियाली छाएको छ । लगानी समूह सबभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र फाइनान्स समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उच्च अंकले बढेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । १ कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आदर्श लघुवित्त, बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र राधी विद्युत् कम्पनीका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यसैगरी, रिडी पावर, ग्रीन भेन्चर र ङादी ग्रपको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप ११ करोड र अपि पावर ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।