समाचार

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय भन्दा माथि पुगेको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।

विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्। हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्।

उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७।७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।