समाचार

मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे होटल हो । पर्यटन विभागले २०८४ मंसिर २ गतेसम्म मान्य हुने गरी इजाजत पत्र दिएको छ । सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेका होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् ।

उनले ६ वर्षअघि १२० करोड लगानी गरेर मिनी क्यासिनोसहित चारतारे स्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । त्यतिबेला होटलमा ६० वटा कोठाहरु थिए । अहिले थप ३० करोड लगानी गरेर कोठाहरुको संख्या १०० पुर्‍याइएको उनले बताए । हाउजिङ र रियल स्टेट व्यवसायी वाग्लेले आन्तरिकसँगै भारतको मुजफ्फरपुर, दरभंगा, मधुवन, पटना लगायत भारतका विभिन्न सहरका पर्यटकहरुलाई लक्षित गरेका छन् । यसबाट पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक समृद्धिको अपेक्षा गरिएको पनि उनले बताए । तीन दशक अगाडि नगरकोटबाट होटल उद्योग सुरु गरेका वाग्लेले इच्छा हस्पिटालिटीको व्यवस्थापनमा अमलेखगञ्जमा ‘गार्डेन सफारी रिसोर्ट’ सन्चालनमा ल्याउने योजना समेत बताएका छन् ।