समाचार

भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको बताइएको छ। यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको श्रेष्ठले उल्लेख गरेका छन्।

थरलाई जात कायम गर्ने, जातअनुसार मातृभाषा कायम गर्ने, ठाउँअनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो। तर पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रूपमा गलत, भ्रामक र अन्यौल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ। जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रूप दिने काम भइरहेको कार्यालयले जनाएको छ।