विश्व

अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

AFP\BBC

काठमाडौं । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ। बीबीसीका अनुसार एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए। क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ।

एफएसबीले भनेको छ, उसले गैरकानुनी गतिविधिलाई रोक लगाइदिएको छ। ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका थिए र राज्यका गोप्य सूचना सङ्कलन गरिरहेका थिए।

केही घण्टापछि गुप्तचर सेवाले उनलाई मस्कोको लिफोर्टोभो जिल्ला अदालतमा लगएर औपचारिक रूपमा नै गिरफ्तार गरेको थियो। उनलाई अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ। उनका वकिलले आफूलाई अदालतको कक्षभित्र प्रवेश नदिइएको जनाएका छन्।

तास समाचार संस्थाले ती पत्रकारले आरोप अस्वीकार गरेको जनाएको छ। उक्त अदालतमा त्यसअघि बमको जोखिम रहेको भन्दै आगन्तुक र कर्मचारीलाई बाहिर पठाइएको रुसको रीआ सरकारी न्यूज एजेन्सीले जनाएको छ।


एफएसबीले एउटा विज्ञप्तिमा एभन गोस्कर्भीचसँग मस्कोभन्दा १,८०० किलोमिटर पूर्वमा काम गर्दै गर्दा विदेश मन्त्रालयको अनुमतिपत्र रहेको जनाएको छ। द वाल स्ट्रीट जर्नलको यसै साता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ।

तर एफएसबीले उनले ‘अमेरिकी इशारामा काम गरिरहेको’ र ‘रुसको रक्षा उद्योगका बारेका राज्यका गोप्य गतिविधिबारे सूचना सङकलन गरेको’ जनाइएको छ। उसले एउटा फौजदारी जासुसी मुद्दा समेत अघि बढाइएको बताएको छ। द वाल स्ट्रीट जर्नलले आफ्ना संवदादता र उनको परिवारको पक्षमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ। उसले एभन गोर्स्कभीचलाई आफ्ना ‘विश्वसनीय र प्रतिबद्ध संवाददाता’ भन्दै तत्काल रिहाइको माग गरेको छ।

क्रेम्लिनले पनि उक्त प्रकरणमा टिप्पणी गरेको छ। प्रवक्ता दिमित्री पेश्कोभले उक्त विषय एफएसबीको जिम्मेवारीमा पर्ने र उनीहरूले विज्ञप्ति जारी गरिसकेको बताएका छन्। “मैले भन्न सक्ने थप कुरा के मात्रै छ भने उनी रङ्गेहात पक्राउ परेका हुन्।” रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ। युक्रेनमा सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालिनुअघि नै रुसबाट समाचारहरू सम्प्रेषण गर्न कठिन बन्दै गएको थियो। स्वतन्त्र पत्रकारहरूलाई ‘विदेशी एजेन्ट’ को आरोप लगाउने गरिएको थियो भने बीबीसीकी रुस संवाददाता सेराह रेन्सफोर्डलाई देश निकाला गरिएको थियो।

लडाइँ सुरु भएपछि रुसले ‘मिथ्या समाचार’ र ‘सेनालाई बदनाम गर्ने’ खबरको प्रकाशनलाई फौजदारी कारबाहीका रूपमा दण्डित गर्न सकिने कानुनी व्यवस्था गरेको थियो। त्यसअन्तर्गत दर्जनौँ रुसीलाई उक्त युद्धको आलोचना गरेकोमा दोषी ठहर गरिएको थियो। लगभग सबै स्वतन्त्र सञ्चारमाध्यमहरूको मुख थुनिएको छ वा तीनलाई बन्द गरिएको छ अथवा प्रसारणमा रोक लगाइएको छ।


एभन गोर्स्कभीचले द वाल स्ट्रीट जर्नलका लागि एक वर्षभन्दा बढी समययता काम गरिरहेका छन्। विगतमा उनले त्यहाँ नै एएफपी समाचार संस्था र द मस्को टाइम्समा काम गरेका थिए। रुसकी राजनीतिकविज्ञ तात्याना स्टानभायाले उक्त गिरफ्तारी आश्चर्यमा पाको बताइन्। उनका विचारमा एफएसबीको दृष्टिकोणमा विज्ञहरूबाट प्रतिक्रिया लिनु मात्रै पनि ‘सूचना सङ्कलन’ पर्छ।

आफ्ना सम्पादकहरूको निर्देशनमा काम गर्नुलाई ‘अमेरिकी निर्देशनमा’ काम गरेको ठहर गरिएको हुनसक्ने उनले बताइन्। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले द वाल स्ट्रीट जर्नलका पत्रकारले गरेको काम पत्रकारितासँग असम्बन्धित रहेको बताएकी छन्। उनले ‘विदेशी संवाददाताले पत्रकारिताको आवरणमा अन्य काम गरेको’ यो पहिलो घटना नभएको बताइन्। युक्रेनमाथिको रुसी युद्ध सुरू भएको १३ महिनामा क्रेम्लिन र पश्चिमा विश्वबीचको सम्बन्ध अझ तनावग्रस्त बनेको छ।