समाचार

ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

काठमाडौं÷बीबीसी । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्।

प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन। अधिकारीहरूका अनुसार घाइते भएका सातै जना नाबालक हुन्। उक्त सवारीसाधान कोलोराडो राज्यबाट भाडामा लिइएको र बुधवार बिहान लास भेगस आइपुगेको प्रहरीले जनाएको छ। सहरमा प्रवेश गरेको दुई घण्टाभित्रै विस्फोटन भएको हो।

होटलअगाडि सिसाको प्रवेशद्वारनजिकै पार्क गरिएको साइबरट्रकबाट पहिला धुँवा निस्किएको थियो र त्यसपछि त्यसमा विस्फोटन भयो। बुधवार साँझ राष्ट्रपति जो बाइडनले उक्त घटनाबारे ह्वाइट हाउसले निगरानी गरिरहेको र कानुन कार्यान्वयन गर्ने निकायले त्यसको र न्यूओर्लिअन्समा भएको आक्रमणबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताए।

सङ्घीय जाँच ब्युरो एफबीआईले १५ जनाको ज्यान जाने गरी न्यूओर्लिन्समा मानिसहरूको भीडमा ट्रक चलाउने व्यक्तिले एक्लै त्यस्तो नगरेको ठानिएको जनाएको छ। राष्ट्रपति जो बाइडनले हमलाकारी इस्लामिक स्टेट ९आईएस० समूहबाट प्रभावित भएको बताएका छन्।

आईएसले भने उक्त हमलाको दाबी गरेको छैन तर उक्त समूहका समर्थकहरूले सामाजिक सञ्जालमा त्यसबारे समाचारहरू शेअर गरेका छन्। दिउँसो आयोजित पत्रकार सम्मेलनमा लास भेगस प्रहरी प्रमुख केभिन मक्मेहिलले लास भेगस होटलमा भएको नाटकीय विस्फोटनको भिडिओ र त्यसपछिका तस्बिरहरू सार्वजनिक गरे। ती सामग्रीमा साइबरट्रकमा इन्धन भरिएका कैयौँ क्यान र पटका देखिन्थ्यो।

भिडिओमा उक्त साइबरट्रक होटलको प्रवेशद्वारअगाडि नै रोकिएको देखियो। विस्फोटन हुनुभन्दा अगाडि केही सेकन्डसम्म उक्त ट्रक स्थिर थियो। त्यसपछि रङ्गीविरङ्गी पटकाहरू पड्किएर चारैतिर उडेका थिए। अर्को एउटा भिडिओमा अनुसन्धानकर्ताहरूले आगो नियन्त्रण गर्न कालो रङ्गको टार्प प्रयोग गरेको र ट्रकभित्र जलेर बाँकी भएको अवशेष देखिएको थियो। साइबरट्रकभित्र ग्यास र इन्धनका क्यानहरू पटकाका मोर्टारका अवशेषसँगै थिए।

उक्त घटनापछि होटलमा बसेका मानिसहरूलाई अन्यत्र सारिएको थियो। न्यूओर्लिअन्समा एक व्यक्तिले नववर्ष २०२५ को दिन उत्सव मनाइरहेका मानिसहरूको भिडमा गाडी जोतेको एक घण्टापछि लास भेगसमा विस्फोटन भएको थियो। न्यूओर्लिअन्सको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

लास भेगस प्रहरीका अनुसार ती दुई घटनाबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान भइरहेको छ। न्यूओर्लिअन्समा घटनास्थलनजिकै विस्फोटक पदार्थ फेला परेको थियो। मक्मेहिलका अनुसार लास भेगस घटना राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पसँग वा उनलाई सहयोग गर्दै आएका धनाढ्य उद्योगपति इलोन मस्कप्रति लक्षित थियो कि थिएन भनेर छानबिन हुँदै छ। विस्फोटन भएको होटलमा ट्रम्प लगानी छ भने उक्त घटनाका लागि प्रयोग गरिएको टेस्ला साइबरट्रक मस्कको स्वामित्वमा भएको कम्पनीले उत्पादन गर्छ।

उनीहरूका अनुसार अहिलेसम्म उक्त घटनामा इस्लामिक स्टेट आईएसको संलग्नता रहेको प्रमाण फेला परिसकेको छैन। सबै जनाको रुचि त्यो शब्दमा छ भन्ने मलाई थाहा छ। अनि उनीहरू हामीले यो आतङ्ककारी आक्रमण हो, भन्छौँ कि भनेर सुन्न खोज्दै छन्। त्यो हाम्रो उद्देश्य हो, अनि हामी त्यसै गर्न खोज्दै छौँ, एफबीआईका विशेष अधिकारी जेरमी श्वार्ट्जले एउटा पत्रकार सम्मेलनमा भने।