बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखलाई मंगलबार निर्देशन दिँदै उनले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न निर्देशन दिए । ‘हामीले विभिन्न माइलस्टोन कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला,’ मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरी लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ ।’
सडक एवं पुल निर्माणका लागि बाँकी ठेक्का लगाइसक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजना व्यवस्थापनतर्फ लाग्न समेत आग्रह गरे ।
सवारी चालक अनुमतिपत्र वितरण प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए ।
सम्भावनायुक्त थप नदीमा पानीजहाज सञ्चालन अध्ययनका लागि नेपाल पानीजहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनको कानुनी व्यवस्थाका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
त्यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए । हुलाकी राजमार्ग एवं पुल, पूर्वपश्चिम राजमार्ग विस्तार लगायत महत्त्वपूर्ण योजनामा ढिलासुस्ती हुन नदिन सडक विभागलाई निर्देशन दिए । वर्षाका बेला यातायात अवरुद्ध हुन नदिन बीपी राजमार्ग साथै काठमाडौं–मुग्लिन, कृष्णभिर, झ्याप्ले खोला क्षेत्रमा विशेष ध्यान दिएर काम गर्न उनले निर्देशन दिए ।
ग्वार्को फ्लाइओभर चैतभित्र पूरा गराउनुपर्ने भन्दै उनले छिचोलिएको सिद्धबाबा सुरुङको बाँकी कामलाई तीव्रता दिन आग्रह गरे । नागढुंगा सुरुङ सञ्चालन मोडालिटी बनाउन समेत उनले आयोजना कार्यालयहरूलाई निर्देशन दिए ।