समाचार

ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता गर्न लागिएको जनाएको छ ।

अघिल्लो शुक्रबार ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भएको वार्तामा माहोल तात्तिएको थियो । यस दौरान ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकाले युक्रेनमा युद्ध सहायता रोक्ने घोषणा गरेको थियो । उता युक्रेन भने आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकासँग सम्बन्ध बिगार्ने पक्षमा छैन । रुसले युक्रेनमा फेब्रुअरी २०२२ मा पहिलो आक्रमण गरेको थियो । त्यसयता युद्ध जारी छ । युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ ।