कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
काठमाडौं । कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी अभियान थालेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए । महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।
आइतबार अभियान सुरु गर्दै महामन्त्री थापाले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराए । उनले भने, ‘रोजगारी राजनीतिक मुद्दा बनेको न प्रतिस्पर्धाको मुद्दा ।’ मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ ।
साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जानकारी गराएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।
पार्टीभित्रबाट नै रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न समूह बनाउने कांग्रेसले जनाएको छ । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् । अभियानका क्रममा रोजगारी सिर्जना गर्न भएका समस्या निराकरणका लागि स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान संस्था, सरकारका संरचना, सरकारी–गैरसरकारी संस्थासँग सहकार्य कांग्रेसले गर्नेछ ।