समाचार

अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो । हाल अमेरिकी शिक्षा विभागमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूका लागि वार्षिक बजेट करिब २३८ अर्ब डलर खर्च भइरहेको छ ।

सन् १९७९ मा स्थापित यो विभागले सार्वजनिक विद्यालयहरूलाई कोष वितरण, विद्यार्थीलाई शैक्षिक कर्जा र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । तर, अमेरिकामा विद्यालयको सञ्चालन र पाठ्यक्रम निर्धारणको जिम्मा प्रदेश र स्थानीय सरकारको हुन्छ । संघीय शिक्षा विभागबाट विद्यालयहरूले जम्मा १३ प्रतिशत मात्र कोष प्राप्त गर्छन् ।