समाचार

पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १९० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको छ। यद्यपि बीबीसीले उक्त सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको लेखेको छ ।

बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।
उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो।

उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ। सो अभियानमा सयौँ सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्। रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन्।

पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्। उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ। बीबीसीले क्वेटामा बुधवार काठका सयौँ शवपेटिका लगिएको देखेको छ। रेल्वेका एक अधिकारीका अनुसार ती शवपेटिका खाली छन् तर आक्रमणका बेला र कारबाहीका बेला मानिसहरूको मृत्यु भएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मगाइएको छ।


स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो।

उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ। गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो। बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो।