डायस्पोरा

एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो "कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज"

न्यूयोर्क

अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ ।  बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन  हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा ल्याएको हो । नयाँ प्याकेज अन्तर्गत प्रति सदश्य जम्मा २ हजार अमेरिकी डलरसम्म एक महिनाको लागि बिना ब्याजी ऋण सरल ढंगले उपलब्ध गराईने छ । क्रेडिट युनियनको यो प्याकेज अमेरिकी संघीय सरकारको आफ्नै आर्थिक प्याकेज प्राप्त नहुँदासम्मका लागि नेपाली समुदायका सदश्यहरुलाई सहयोग पुगोस भनेर कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज डिजायन गरिएको अध्यक्ष डिल्ली भट्टले बताए ।

एक महिनाको लागि उपलब्ध गराईने बिना ब्याजी ऋण यदि समय सिमा भित्र चुक्ता गर्न असफल भएका उक्त ऋण त्यसपछि १२ प्रतिशत ब्याजदरमा रुपान्तरण गरी मासिक किस्ता १ सय २१ डलर ९६ सेन्ट तिर्दै १८ महिनामा चुक्ता गर्न सकिने छ । “कोभिड -१९ रिलिफ प्याकेज संस्थाको सिमित श्रोत भित्रबाट बितरण गर्नुपर्ने भएको हुँदा अत्यावश्यक ब्यक्तिहरुले मात्र ऋण माग्नु भयो भने अझै सहयोग हुने थियो” भन्छन् मेनेजर – बिराज रिजाल । यो नयाँ प्याकेज एभरेस्ट फेडरल क्रेडिट युनियनको गभर्निङ् बडीको निर्णय अनुसार बजारमा ल्याईएको पनि बिराज रिजालले बताए ।