विश्व

नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

Photo source : CBS sports

टेरेसोपोलिस, ब्राजिल, १६ जेठ । रासस–एएफपी) । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् ।

विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने खेलका लागि निको हुने गरी उपचार भइरहेको बताएका हुन् ।


“हामीलाई विश्वास छ कि उनी चाँडै मैदानमा फर्कनेछन्, यदि उनी पहिलो खेल खेल्न सकेनन् भनेपनि दोस्रो खेलका लागि तयार हुनेछन्,” इटालियन एन्सेलोट्टीले भने ।
बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार नेइमारले विश्वकपअघि पानामा र इजिप्टविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्ने छैनन् । ब्राजिलले पानामासँग आइतबार माराकाना रङ्गशालामा खेल्नेछ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

विश्वकपका लागि एन्सेलोट्टीको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गर्नु आश्चर्यको कुरा थियो किनभने उनी चोटपटक पछिल्लो समय खेलमा कमजोर प्रदर्शन कारण लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन् । यद्यपि, नेयमार सेलेकाओका लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो उनको विश्वकप खेलमा चौथो प्रवेश हो ।