स्वास्थ्य

केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

नैरोबी, १९ जेठ (रासस–एपी) । अमेरिकी नागरिकहरूका लागि केन्यामा इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार तथा निगरानी गर्ने केन्द्र स्थापना गर्ने योजनाविरुद्ध विरोध चर्किएको छ । केन्याको मध्य क्षेत्रीय सहर नान्युकीमा सयौँ युवाहरूले सोमबार सडकमा उत्रिएर प्रस्तावित केन्द्रको विरोध गरेका छन् भने अदालतले यसअघि नै सुविधा स्थापना र विदेशी बिरामीहरूको आगमन अस्थायी रूपमा रोक्न आदेश दिएको थियो ।

प्रदर्शनकारीहरूले इबोलाविरुद्ध नाराबाजी गर्दै लाइकीपिया एयर बेसको मुख्य प्रवेशद्वारसम्म पदयात्रा गरेका थिए । यही सैन्य आधार क्षेत्रमा अमेरिकी नागरिकसहित विदेशी इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार र निगरानी गर्न मिल्ने नयाँ केन्द्र स्थापना गर्ने योजना सार्वजनिक भएपछि स्थानीय असन्तोष बढेको हो ।

यो विरोध प्रदर्शन केन्याको उच्च अदालतले सुविधा सञ्चालन र विदेशी बिरामी ल्याउने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि भएको हो । अदालतमा केन्याको ल सोसाइटी र एक संवैधानिक निगरानी संस्थाले दायर गरेको मुद्दामाथि सुनुवाइ भइरहेका बेला यो आदेश आएको थियो ।

मुद्दा दायर गर्ने संस्थाहरूले केन्याको स्वास्थ्य प्रणाली अझै पर्याप्त रूपमा सक्षम नरहेको तर्क गरेका छन् । उनीहरूको भनाइमा देशको सीमित स्वास्थ्य पूर्वाधारलाई ध्यानमा राख्दा विदेशी इबोला बिरामीहरूलाई केन्यामा ल्याएर अलग्गै निगरानी र उपचारमा राख्नु जोखिमपूर्ण हुन सक्छ ।

अमेरिकी अधिकारीहरूले गत बिहीबार संयुक्त राज्य अमेरिकाले विदेशमा रहँदा इबोलाबाट सङ्क्रमित भएका आफ्ना नागरिकहरूलाई तत्काल अमेरिका फिर्ता पठाउनुको सट्टा केन्यास्थित नयाँ केन्द्रमा राख्ने योजना बनाइरहेको बताएका थिए । प्रशासनिक योजनाबारे जानकारी दिन नाम सार्वजनिक नगर्ने सर्तमा बोल्दै उनीहरूले यो सुविधा लाइकीपिया एयर बेसमा सञ्चालन हुने र शुक्रबारसम्म ५० वटा अलग्गै उपचार र निगरानीका शय्यासहित तयार हुने बताएका थिए ।

यद्यपि केन्या सरकारले यो केन्द्र केवल अमेरिकी नागरिकका लागि बनाइएको भन्ने धारणा अस्वीकार गरेको छ । केन्याका स्वास्थ्य मन्त्री एडेन डुअलेले आइतबार उक्त सुविधा ‘सबैका लागि’ बनाइने र यसलाई केवल अमेरिकी नागरिकहरूसँग जोडेर हेर्न नहुने स्पष्ट पारेका छन् । यसैबीच अमेरिकी सरकारले केन्याको इबोला प्रतिकार तथा तयारी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने प्रस्ताव पनि अघि सारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टनले केन्याको इबोला तयारी प्रयासका लागि ३५ लाख अमेरिकी डलर सहयोग प्रतिबद्ध गर्न चाहेको छ ।

केन्यामा प्रस्तावित इबोला केन्द्रलाई लिएर अहिले सार्वजनिक स्वास्थ्य, राष्ट्रिय सुरक्षा, विदेशी सहयोग र स्वास्थ्य प्रणालीको क्षमता सम्बन्धी बहस तीव्र बनेको छ । स्थानीय स्तरमा विरोध जारी रहेकाले आगामी दिनमा अदालतको निर्णय र सरकारी कदममाथि विशेष चासो केन्द्रित भएको छ ।