विज्ञान प्रविधि

नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने

FILE - In this photo provided by NASA and captured by the Artemis II crew from lunar orbit, the moon eclipses the sun on April 6, 2026. (NASA via AP, File)

लस एन्जलस, २० जेठ (रासस–सिन्ह्वा) । अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासकले निजी अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ को हालै विस्फोटबाट क्षतिग्रस्त भएको प्रक्षेपण स्थल (लन्चप्याड) सन् २०२८ सम्म पूर्ण रूपमा पुनःस्थापित नहुन सक्ने बताएका छन् । यस घटनाले कम्पनीका आगामी अन्तरिक्ष अभियानहरू मात्र होइन, नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको तालिकामै असर पार्न सक्ने चिन्ता बढाएको छ ।

गत बिहीबार राति अमेरिकी पूर्वी समयअनुसार करिब ९ बजे फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष बल केन्द्रको प्रक्षेपण परिसर–३६ मा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएको थियो । परीक्षण उडानअघि गरिने स्थिर इन्जिन परीक्षण (हट–फायर परीक्षण) चलिरहेको बेला भएको उक्त विस्फोटले प्रक्षेपण स्थलमा ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

यो स्थल हाल ‘न्यु ग्लेन’ रकेट प्रक्षेपण गर्न सक्षम ब्लु ओरिजिनको एकमात्र सञ्चालनयोग्य प्रक्षेपण केन्द्र हो । त्यसैले यसको क्षतिले कम्पनीका निकट भविष्यका अन्तरिक्ष कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । नासा प्रशासक जारेड आइज्याकम्यानले एक अन्तर्वार्तामा क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माण प्रक्रिया जटिल हुने संकेत गर्दै सन् २०२८ सम्म पुनःस्थापना सम्भव हुने समयसीमा हुन सक्ने बताएका छन् । उहाँका अनुसार सम्बन्धित निकायहरू दुर्घटनाको कारण पत्ता लगाउने, प्राविधिक मूल्याङ्कन गर्ने तथा पुनर्निर्माण योजना तयार पार्ने कार्यमा जुटेका छन् ।

उहाँले ब्लु ओरिजिन सफल हुनुपर्नेमा सबै पक्ष सकारात्मक रहेको उल्लेख गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय अवलम्बन गर्नुपर्ने बताए । यता ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकृत डेभ लिम्पले सामाजिक सञ्जालमार्फत कम्पनीले प्रक्षेपण स्थलमा सीमित पहुँच पुनःप्राप्त गरिसकेको जानकारी दिए । उनका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ र क्षतिग्रस्त संरचनाको सरसफाइ तथा पुनर्निर्माणको योजना तयार पार्ने काम सुरु गरिनेछ ।

विशेषज्ञहरूका अनुसार ‘न्यु ग्लेन’ ब्लु ओरिजिनको महत्वाकांक्षी भारी–क्षमताको रकेट परियोजना हो, जसलाई व्यावसायिक उपग्रह प्रक्षेपणदेखि चन्द्रमा तथा गहिरो अन्तरिक्ष अभियानसम्म प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द रहँदा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता र व्यावसायिक सम्झौताहरूमा समेत असर पर्न सक्छ।

यस घटनाको प्रभाव नासाको ‘आर्टेमिस’ चन्द्र अभियानमा पनि पर्न सक्ने अनुमान गरिएको छ। ब्लु ओरिजिन नासाको प्रमुख व्यावसायिक साझेदारमध्ये एक हो र चन्द्रमामा मानव अवतरण तथा आवश्यक उपकरण ढुवानीसम्बन्धी योजनामा कम्पनीको महत्वपूर्ण भूमिका रहेको छ ।

यदि प्रक्षेपण स्थलको पुनर्निर्माण अपेक्षाभन्दा लामो समय लाग्यो भने चन्द्रमा अन्वेषणसँग सम्बन्धित केही निर्धारित अभियानहरू पछि सर्न सक्ने सम्भावना पनि बढेको छ । हाल अनुसन्धानकर्ताहरू विस्फोटको मूल कारण पहिचान गर्ने तथा क्षतिको पूर्ण मूल्याङ्कन गर्ने कार्यमा केन्द्रित छन् ।