सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता, विमानस्थलमा के भने ?
काठमाडौँ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी (भाजपा)का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए । सो अवसरमा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीयसचिव प्रदीप आचार्य थिए ।