कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा
काठमाडौँ, २५ जेठ । मित्रराष्ट्र भारतका स्थापित कलाकार पियुष मिश्राले गीत, सङ्गीत र साहित्य साधनाका दृष्टिले नेपाल उर्वर भूमि रहेको बताएका छन् । भारतको ग्वालियरमा जन्म भई गीत, सङ्गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याएका ६३ वर्षीय मिश्राले नेपालको हावा, पानी, भूगोल र संस्कृति कला, चलचित्र र साहित्य सिर्जनाका लागि अनुकूल रहेको बताए ।
काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन नेपाल आएका बहुआयामिक प्रतिभाका धनी मिश्राले ऐतिहासक एवं सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यका कला र साहित्य सिर्जनाका लागि अनुपम स्थान रहेको धारणा व्यक्त गरे ।
आफ्नो क्षेत्रमा समपर्ण भावका साथ क्रियाशील भई छुट्टै पहिचान बनाउन सफल मिश्राले भने, “कला, साहित्य र रङ्गमञ्चका क्षेत्रमा ठूलो साधना गरेर स्थापित हुन सफल भएको हुँ, यसमा मेरो भाग्य र भगवान्ले दिएको उपहारको अंश पनि होला । सङ्घर्षले दिने सफलता गौरवपूर्ण र दिगो हुन्छ । आफ्नो पेसाप्रति गौरव गर्दछु ।”
नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट अभिनयसम्बन्धी शिक्षा लिएका मिश्राले भने, “हिजो–आज अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग मिलेर स्वदेश तथा विदेशका विभिन्न सहरमा पुग्छु । यसै क्रममा काठमाडौँ आएको हुँ । आफू संलग्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सुनाउन पाउँदा खुसी छु ।”
“तपाइँ केही बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस्, आफ्नो सहजता त्याग्नोस् र उद्देश्य प्राप्तिका लागि हिँड्नुहोस्, असम्भव केही छैन । तपाईं एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उनले भने । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा आफ्नो समूहसँग यहाँ आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाइरहेको छु, यो मेरो मनले चाहेको काम हो”, अभिनेता मिश्राले भने ।
उनले आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न युवाहरूलाई सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गरे । यही जेठ २४ गते ‘केएलएफ’ महोत्सवमा सहभागी हुने क्रममा अभिनेता मिश्रा नेपाल आएका हुन् ।