विश्व

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

File : In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

मस्को, १० भदौ (रासस–सिन्ह्वा) । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् । “युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,” उनले भने ।


सोमबार ‘कोएलिसन अफ द विलिङ’का नेताले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किएभमा भर्चुअल बैठक गरेका थिए । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए ।


गठबन्धनले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच विश्वसनीय युद्धविराम भएपछि युक्रेनमा तैनाथ गर्न ‘मल्टिनेसनल फोर्स युक्रेन’ (बहुराष्ट्रिय युक्रेन बल)को तयारीलाई निरन्तरता दिने उल्लेख छ । पेस्कोभले रुस आफ्नो विजयप्रति विश्वस्त रहेको बताए । शान्तिपूर्ण समाधानका लागि आवश्यक परिस्थिति नबनेसम्म रुसले सैन्य कारबाही जारी राख्ने उनको भनाइ थियो । “हामी विजयको आशा मात्र गरिरहेका छैनौँ, यो अवश्यम्भावी छ भन्नेमा विश्वस्त छौँ,” उनले भने ।