समाचार

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन


काठमाडौँ, १३ भदौः नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् । टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।

नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ । त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।