समाचार

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

File : An international low coast FlyDubai aircraft prepares for landing as a smoke plume rises from an ongoing fire near Dubai International Airport in Dubai on March 16, 2026. Flights were gradually resuming at Dubai airport on March 16, previously the world's busiest for international flights, the airport operator said, after a "drone-related incident" sparked a fuel tank fire nearby, as Iran kept up its Gulf attacks. (Photo by AFP) /

ललितपुर, ५ कात्तिक : नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ। कांग्रेसले निर्दोष नागरिकको ज्यान जानेगरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको पार्टीको भनाइ छ।

कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दुःखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी गराउनुभयो। विज्ञप्तिमार्फत सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गर्नुभएको छ।

नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन।