स्वास्थ्य

डालसमा तनाव कम गर्ने ध्यान बिधी 'माइन्डफुलनेश मेडिटेसन' को चार हप्ते शिविर जुमबाटै सम्पन्न

डालस, टेक्सस

नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले भाग लिएको एसोसियसनका अध्यक्ष स्वयम्भू शाक्यले जानकारी दिएका छन् । शाक्य भन्छन्; “पहिलो हप्तामा वेल बिईंगको परिचय र ध्यान बिधिको प्रायोगको बारेमा मौशमले सिकाउनु भएको थियो । दोस्रो हप्ता  विचारलाई कसरी अवलोकन गर्ने ? कसरी ब्यबस्थापन गर्ने ? बारे प्रयोगात्मक पाठ सिकाईएको थियो । तेश्रो हप्ता मनका भावनाहरु कसरी उत्पति र बिलय हुन्छ ? र यसलाई कसरी सही ढंगले हेर्ने सकिन्छ भनेर सिकाईएको थियो । चौंथो हप्तामा भने सिकेको ज्ञान र प्रयोग बिधिले सहभागीहरुले त्यसबाट फाइदा महसुस भए – नभएको बिषयमा छलफल भएको थियो । साथै बिधि कहिले र कसरी दैनिक जीबनमा प्रयोग गरेर व्यवहारिक बनाउन सकिन्छ भनेर छलफल गरिएको थियो । 

कार्यक्रमको बिषयमा नेपालस्थित औरा क्रियशनका प्रमुख दीपक बज्राचार्य भन्छन;  “मौशमलाइ पहिलेदेखि चिनेको र नजिकको मित्र भएर पनि उहाँको कार्यक्रममा कहिले सहभागी हुन पाएको थिएन । यसपाली समय जुर्यो । उहाँको वेल बिईंगको अनुभव मलाई गज़ब लाग्यो । उहाँले सिकाउनु भएको ध्यान बिधिले हाम्रो तनाब धेरै कम गर्न सकिन्छ”  डालसस्थित एक हस्पिटलमा कार्यरत डा. जया भट्टराई बरुण भन्छिन्; “माइन्डफुलनेश हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ किनकि हाम्रो मनमा तनाब जबसम्म कम हुदैंन तबसम्म हामी स्वस्थ अनुभब गर्न सक्दैनौं । त्यसैले यो माइन्डफुलनेश र वेल बिईंगको तरिकाले हाम्रो तनावपूर्ण जीबन कसरी शान्त र आनन्ददायी हुन सकिन्छ भन्ने सिक्ने मौका पाए । बिशेष गरि यो कोभिड १९ को अवस्थामा धेरै जीबनहरु त्यतिकै खेर गएको देख्न पर्यो । यस्तो बेलामा हामी कसरी आफुले आफैलाई सम्हालेर अगाडि बढ्ने भन्ने र दिमागमा दिनभरीको तनाबको अवस्थामा यो कार्यक्रमले धेरै साथ् दिएको मैले पाएँ । यो कार्यक्रमले मलाई अध्यात्मको बाटो खुलाएको पनि अनुभब गरेको छु ।मौशमजीलाई धेरै धेरै धन्यवाद”। डालसस्थित पेशाले इन्जिनियर बिनय मानन्धर पनि यो कार्यक्रम धेरै लाभदायक भएको बताउदै भन्छन्; “धेरै किताबहरुको अध्ययन र अरु ध्यानको एप्सहरु पनि प्रयोग गरेको थिए तर मौशमजीको जस्तो प्रभाबकारी भएन । ३-४ हप्ता भयो म लगायत मेरो परिवारका सबै सदस्यहरु यो ध्यानबिधि प्रयोग गर्दै छु। यो बिधि शुरु गरेदेखि राम्रो निद्रा लागेको र बिहान उठ्दा धेरै फ्रेश भएको छु । मौशमजीको यो बिधिहरु एकदम नै साधारण र सजिलो भएकोले मेरो २१ बर्षको छोरा र १७ बर्षको छोरीले समेत प्राक्टिस गरिरहेका छन् ।

संस्थाका महासचिव डा. निरज बज्राचार्य भन्नु हुन्छ “यो हाम्रो सानो प्रयास हो, हामीले हाम्रो कम्युनिटीमा अरु पनि ध्यान साधनको प्रयोग गर्दै आई रहेका छौं र पछि पनि हाम्रो प्रयास जारी रहने छ। भबिष्यमा मौशमजीसंग मिलेर फेरी अरु अरु पनि कार्यक्रम ल्याउने छौं । कसैलाइ हाम्रो कुनै प्रकारको सहयोग चाहिएमा नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास वा कमला शाक्य फ़ाउण्डेशनको फेसबुक पेजमा मेसेज गर्न हुन हार्दिक अनुरोध गर्दछौ” ।