फिचर

शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो

काठमाडौं । सरकारले गत वर्ष ११ चैतबाट मुलुकभर लागु हुने गरी लकडाउन घोषणा गरेको थियो । यसको केही अगाडी नै सरकारले लकडाउनको संकेत भने गरेको थियो । सोही मौका पारेर शहरमा मजदुरी गरिरहेका धेरै यूवा गाउँ पसे । उनीहरु यो वर्ष करीव दशैं तिहार सम्म नै गाउँ बसे ।

बाँझो रहेको खेतमा धान रोपे । यसको सकारात्मक नतिजा प्राप्त भएको छ । सरकारी तथ्यांक अनुसार देशभर चैते र वर्षे धानको उत्पादन अहिलेसम्मकै बढी भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ । यो गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो ।

धानको उत्पादकत्व हालसम्मकै उच्च ३.८२ पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार ५ सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर पुगेको छ ।

प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिकटन धान फलेको तथ्यांक छ । दोस्रो धेरै धान उत्पादन प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार मेट्रिक टन छ । यो वर्ष सबैभन्दा थोरै धान कर्णाली प्रदेशमा फलेको छ ।

यहाँ १ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष कृषकले मलको चरम अभाव बोकेको थिए । यद्दपी मनसुन समयमा नै सुरु भएकाले यो वर्ष पर्याप्त पानी परेको थियो । यसले समेत धान उत्पादनमा सहयोग गरेको हो ।