समाचार

विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु

बाग्लुङ । विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु भएको छ । बाग्लुङ प्रहरीका अनुसार सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा गलकोट नगरपालिका ७ मल्ममा रहेको खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती छन् । उनीहरूको उपचारका क्रममा ज्यान गएको हो । उनीहरूसँगै रक्सी पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर छ ।

उनीहरुको धौलागिरि अस्पतालमा प्राथमिक उपचारपछि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीले यो घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको हो । बाग्लुङमा पहिलो पटक यस प्रकारको घटना भएपछि प्रहरी गम्भीर बनेको छ । प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरेको र मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडासमेत बरामद भएको बताइएको छ ।