फिचर

गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईको भनाई छ ।

बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक, एक जना अनशन बस्ने योजना रहेको आयोजकको भनाई छ । १३ दिनभित्र बेलायत सरकारले वार्ताको पहल नगरेमा भने भोक हड्तालमा जाने योजना छ । गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।