समाचार

सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु

Reuters

काठमाडौं । तालिबान लडाकुले अफगानिस्तानमा नियन्त्रण जमाएपछि उत्पन्न परिस्थितीका कारण त्यहाँ रहेका विदेशीहरुमा त्रास बढेको छ । यद्दपी तालिबानले बदलाको भावनाबाट कुनै पनि गतिविधि नगर्ने बताएको छ । साथै विदेशी नागरिकलाई सुरक्षित तवरबाट देश छाड्न दिइने समेत बताइएको छ । यता, नेपाल सरकारले समेत नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ ।

तालिबान लडाकु आइतवार काबुलको बाहिरी क्षेत्रमा प्रवेश गरिसकेका छन् । त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको बताएकै बेला त्यहाँका राष्ट्रपतिले देश छाडेको खबर समेत सार्वजनिक भएको छ । अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको बताएका छन् ।

कतिपयले फर्किने टिकट समेत काटिसकेका छन् । आइतवार परराष्ट्र मन्त्रालयले जारी विज्ञप्ती जारी गरि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा व्यवस्था गरिएको जानकारी गराएको छ । सो पोर्टलमा गएर नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन सरकारले आह्वान गरेको छ । उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिइएको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । वश्यक सहयोगका लागि दूतावासको फोन नम्बर र इमेलहरूमार्फत् सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई पनि त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना उपलब्ध गराउन सरकारले आग्रह गरेको छ।