फिचर

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ ।

पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ पुगेको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० पुगेको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको निगमको भनाई छ । यसअघि असार ३० मा मूल्य बढेको थियो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा ग्यासमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा हुन्छ ।