कला / साहित्य

कथा : कार्तिके कुकुरहरु

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

शेरे, एउटा भुस्याहा कुकुर त्यस टोलको । उस्को सामु टोलका अरु सबै भुस्याहा कुकुरहरु डरले थर्कमान । एक हिसावमा ऊ त्यस टोलको बादशाह कुकुर । एक चोक्टा मासुको लागि बगरेको पसलमा घण्टौं कुर्ने भएता पनि बगरेले फालेको मासुको चोक्टा अरु कुकुरले टोक्न आयो भने आफ्ना तिखा तिखा दाँतहरु देखाएर परसम्म लखेटन सक्थ्यो ।
पिन्की, त्यस टोलको अर्को भुस्याहा कुकुर्नी । पहिला पाल्तु र त्यसपछि सडकमा फालिएकी भएकीले अरु भुस्याहा कुकुर भन्दा उस्मा व्यवहारमा अलि सभ्यता र सौम्यता । हेर्दा अलि राम्री भएर हो कि टोलभरिका कुकुरले उस्लाई प्रेम ब्यक्त गर्दथे । सवै कुरा पिन्कीको लागि सहय थियो, तर कुनै कुकुरले कामबासनामा उस्को जिउमा जिब्रोले चाट्न आएको उस्लाई मन पर्दैन । यसरी मायाले जिउमा सुम्सुमाउन आउने कुकुरलाई आफ्ना तिखा दाँत देखाउँदै र भुकाइले भुक्दै खेदथी । यस्तो अवस्थामा शेरे आएर भएभरका कुकुरलाई टोकुँलाझैं गरी परसम्मै लखेटथ्यो । अरु सबै कुकुर पर भागेपछि बडो बहादुरी साथ शेरेले पिन्कीको जिउमा जिब्रोले चाटथ्यो । शेरेले प्रितिभाव देखाउँदा भने पिन्की केही प्रतिक्रिया नजनाई भुइँमा थचक्क नै बस्थी । आफ्नो ज्यान जोगाउने हिरोको लागि शायद पिन्कीको त्यो उपहार पनि हुन सक्थ्यो ।
यस्ता घटना र परिघटनाहरुलाई चलचित्रको दृश्य जस्तो आलिशान बंगलाको गोल्डेन बार्डलीमा बसेर टुलुटुलु हेरिबस्ने त्यस टोलको अर्को पाल्तु कुकुर हो– एलेक्स । बगरेले फालेको एक चोक्टा मासुमा हारालुछ, पिन्कीप्रति सवैको प्रेमोतेजना, अनि शेरे र पिन्कीको सहवासहरु ऊ हेरेर बस्थ्यो । कुनै दिन शेरे अरु टोलतिर गएको बेला, त्यस टोलका भएभरका भुस्याहाहरु आएर पिन्कीलाई बलात्कार गर्थे । झन्डै पच्चीस, छबीसको संख्यामा भुस्याहा कुकुरहरु छन्, त्यस टोलमा ।
एलेक्सले भने दिनहुँ मासुको भात खान पाउथ्यो । मालिक र मालिक्नीले उस्को टाउकोमा सुम्सुमाएर प्रेम ब्यक्त गर्दथे । अझ त्यस घरका दुई केटाकेटी एलेक्स भन्यो कि हुरुक्कै हुन्थे । सँधै थालभरि मासु राखेर खान पाउँदा एलेक्सले गोल्डेन बार्डलीबाट हेरेर अरु भुस्याहा कुकुरलाई हेर्दै मनमनै भन्थे–एक चोक्टा मासुको लागि लुँछाचुँडी गर्ने ए भुस्याहा कुकुरहरु, तिमीहरु कति अभागी छौ ।
एकदिन एलेक्सले शेरेतिर हेर्दै भन्यो– ‘एक चोक्टा मासु खान नपाउने ए भुस्याहा, तिम्रो के जिन्दगी हो त्यो ।’
शेरे पनि के कम, पिन्कीको जिउ जिब्रोले चाट्दै जवाफ फर्कायो–‘मासु खान नपाए पनि मासु चाट्न पाएको छु । तैले पाएको छस् ? हामी त भोगी कुकुर, तँ जोगी कुकुर ।’
एलेक्सको मन शेरेको जवाफले साहै्र दुख्यो । वास्तवमा एलेक्सको यौन चाहना नभएको होइन । तर, साहु र साहुनीले कहिले उस्लाई बाहिर पठाउने होइन । घरमै थुनेर राख्थ्यो । यस्को बदलामा थालभरि विभिन्न प्रकारको मासु पस्किदिन्थ्यो । शेरेहरुको स्वतन्त्र जीवन, प्रेम र यौन देखेर अव ऊ भित्रभित्रै जल्न थाल्यो । मेरो जीवनमा पनि पिन्की आइदिएको भए, ऊ भित्रभित्रै कल्पनामा डुब्न थाल्यो ।
बार्दलीबाट बाहिर अवलोकन गर्ने क्रममा एकदिन टोलभरिका भुस्याहा कुकुरहरु बथानका बथान हिँड्न थाले । एउटा मेला लागे जस्तो दृष्य देखिन थाल्यो । सबै कुकुरले पिन्कीलाई सुघ्न थाले । सडकमा शेरेको कि अरु भुस्याहा कुकुरको यौन क्रिडा कहिले नटुटने । यस्तो मनमोहक दृष्य देखेर एलेक्सको मन साह्रै रोयो । आज आएर उस्लाई अभागी ती भुस्याहा कुकुरहरु होइन, आफू जस्तो लाग्यो । स्वतन्त्रता भन्दा ठूलो चिज केही छैन । एकदिन उस्ले घरको डस्टबिनमा फोहर कोतरेर हेर्दा एउटा अनौठो चिज भेटायो । पछि थाहा पायो, त्यो कण्डम रहेछ । भित्र घरको बन्द कोठामा साहु र साहुनीको यौनक्रिडा, बाहिर साथीहरुको । बीचमा अलपत्र परिरहेको एउटा मात्र उस्को अभागी लिङ्ग, जस्मा झिँगा भुन्भुनाएर जाने बेलामा थुकेर जान्थे । अव उस्लाई थालभरिको मासुमा मन लाग्न छाड्यो । सकिने भए, त्यो भुस्याहा कुकुरको हुलमै गएर मिसिउँ जस्तो लाग्यो । तर, कहाँ स्वीकृति छ र त्यसको ? ऊ त त्यस घरको रक्षक भएर घरमा कोही अपरिचित ब्यक्ति आयो भने भुक्न बाध्य छ ।
एलेक्सको व्यवहारमा परिवर्तन आउन थाल्यो । विस्तारै उस्को पुच्छरको चञ्चलता पनि मर्न थाल्यो । मासु भात पनि खान छाड्यो । एकदिन त साहुको छोरालाई नै टोक्यो । त्यस एक हप्ता पछि साहुकी छोरीलाई टोक्यो । उस्को यस्तो परिवर्तित व्यवहारले साहु र साहुनीले उस्लाई बौलाउन लागेको थानी घरबाट बाहिर निकाले ।
एकाबिहान ऊ त्यो गोल्डेन गेट त्यागेर बाहिर आए टुकुटुकु । उस्लाई देखेर शेरेले सोध्यो–‘ किन आएको यता ? मासु भात खान मन लाग्दैन ?’
एलेक्सले शेरेलाई मुस्कुराउँदै भने–‘सेक्स सामु मासु भात केही पनि होइन रहेछ यार । मलाई सेक्स चाहियो यार । साहु र साहुनीहरु बन्द कोठामा सेक्स गर्ने, तर मेरो यौन इच्छालाई भने बर्षोसम्म कुल्चेर बसे । के जनावरको लिङ्ग नै हुँदैन ? के उस्लाई यौन प्राप्तिको अधिकार नै हुँदैन ? यसैकारण विद्रोह गरी आएको ।’
‘कसरी विद्रोह गर्यो ?’ समूहको एक भुस्याहा कुकुरको जिज्ञासु प्रश्न ।
‘पहिला साहुको छोरालाई टोके । त्यसको एक हप्तापछि साहुकी छोरीलाई । त्यस पछि मलाई बौलाएको थानेर साहु र साहुनीले घरबाट निकाले ।’
शेरेले बडो गर्व साथ बोल्यो–‘लँ तँ आइस्, तँलाई हाम्रो समूहको सदस्यता दियौ । पहिलो चोटि हाम्रो टोलमा आएको छस्, के माग्छस् माग । हाम्रोमा आगन्तुक साथीलाई भनेकै दिने चलन छ ।’
एलेक्सले भन्यो–‘म पिन्कीसित सेक्स गर्न चाहन्छु ।’
अरु सबै कुकुरहरु दङ्ग परे । अरु सबै भुस्याहा कुकुरहरु पर गए, साथमा शेरे पनि । बाँकी थियो त एलेक्स र पिन्की मात्र । पिन्कीले पनि मेरो लागि मासु भात त्यागेर आएको भनी समर्पण भावमा भुइँमा थचक्क बसी । एलेक्स पिन्कीमाथि चढे । उस्लाई जीवनमा पहिलोपटक एउटा विशेष आनन्दको अनुभूति भयो । कहीँ परबाट आएको ढुंगाले एलेक्सको जिउमा डयाम्म लाग्यो । त्यसको चोटले कुइँकुइँ गर्दै पिन्कीबाट छुटिएर सडकको अर्को कुना लागे । एकक्षण पछि चोट लागेको ठाउँमा जिब्रोले चाटदै सोच्यो – कस्ता निष्ठूर हुन्छन् मान्छेहरु । के कुकुरलाई सेक्स नै चाहिन्न ? के यौन र प्रजनन उस्को मौलिक अधिकार होइन ? हामीलाई पनि बन्द कोठा र कण्डम देऊ, हामी पनि तिमीहरुझैँ सभ्य सेक्स गर्छौँ । यो सडकको छताछुल्ल यौन क्रिडा हाम्रो कुकुरगत निजी अधिकार हो । ढुंगा बर्षाउने कसैलाई अधिकार छैन । हाम्रो त्यो कुकुर अधिकारको हनन हो । बरु तेरो ढुँगाले लागेर म सहिद बनुँला, तर पिन्की र मेरो यौन क्रिडा कहिले समाप्त हुने छैन । आफ्नो चोट भुल्दै, पिन्कीलाई पछ्याउँदै ऊ दौडिरहयो, सडकको पर परसम्म । एउटा मानिस परबाट कराएको सुनियो– कार्तिके कुकुरहरु !