समाचार

बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना आर्थिक संकटमा फसेको छ । जसले गर्दा टीमलाई अझै कमजोर बनाएको छ । आफ्नो टीमका सबैभन्दा भरपर्दा स्ट्राइकर लियोनल मेसीलाई गुमाएको यो टीमले अब फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई समेत एट्लेटिको मड्रिड पठाएको छ । ला लिगा च्याम्पियन एट्लेटिले ग्रिजम्यानसँग सम्झौता गरेको बार्सिलोनाले औपचारिक रुपमा जानकारी गराएको छ । ग्रिजम्यान एक वर्षका लागि लोन सम्झौतामार्फत बार्सिलोनाबाट एट्लेटिकोमा आबद्ध भएका छन् । सम्झौताअनुसार एट्लेटिकोले ग्रिजम्यानको तलब दिने छ ।

लोन सम्झौतालाई स्थायी सम्झौतामा परिणत गर्न समेत सकिने सम्झौतामा उल्लेख छ । सन् २०१९ मा १०७ मिलियन पाउन्डमा एट्लेटिकोबाट बार्सिलोनामा आएका फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानको बार्सिलोनाको बसाई सोचेजति सफल भने हुन सकेन । उनले बार्सिलोनाबाट १०२ खेलमा मात्र ३५ गोल गरे । उनले एक कोपा डेल रे उपाधि मात्र उचाले । सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोबाट खेल्दा भने उनले २५७ खेलबाट १३३ गोल गरिसकेका थिए ।