समाचार

पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट दर्शन गर्न पाइने भएको छ । सर्वसाधारणले निर्वाध दर्शन गर्न पाउने गरि आजबाट मन्दिर खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको महामारीका बीच मन्दिर पछिल्लो चार महिनायता बन्द थियो । शुक्रबार बिहान ६ बजेदेखि दर्शन खुल्ला भएको छ । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो । विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । बिहीबार तीजका अवसरमा अधिक भीडभाड हुने भएकाले मन्दिर बन्द नै रह्यो ।